१) २०६८ सालतिरको कुरा हो । म पोखरा पि.एन. क्याम्पस पढ्थे । त्यतिबेला गाँउमा सेवा र सुविधाहरु थिएन । एउटा फोटोकपी गर्नको लागी पनि टाढा जानुपथ्र्याे । मेरो पहिल्यैदेखी आफ्नै गाँउठाँउमा केही गर्ने रहर थियो । त्यो बेला मैले मोबाईल रिपेयरीङको तालिम पनि लिएको थिए । गाँउमै केही गर्छु भनेर यहाँ पसल गर्छु भनेर घरमा कुरा गरे । मेरो साथी÷दाई हिमाल गोतामेले गाँउमा केही हुँदैन सुरज तपाई नजानु भनेर धेरै सम्झाउनुभएको थियो त्यो बेला । म कसैको कुरा नसुनी गाँउ आए । त्यसपछि केही समय तयारी गरियो र पसल राख्नको लागी कोठा खोज्न थालियो । एक ठाँउमा कोठा पाईयो । विश्वकर्मा पुजाको दिनदेखी पसल उद्घाटन गर्ने कुरा थियो । उक्त दिन बिहानै नुहाई धुहाई गरेर सामान लिएर उक्त शटरमा जाँदा घरबेटी अंकलले भन्नुभयो बाबु गल्लीबाट ट्वाईलेट जाँदा मेरो भान्सापर्छ, उताबाट घुमेर आउनु है भन्नुभयो । (यहाँनेर केही विद्वानहरुले भान्सामा नजाउ भनेर भन्न पाईन्छ भन्नुहोला, तर भान्साको बाटो मात्रै पथ्र्याे, भान्सा देखिदैनथ्यो । ) त्यसपछि म छाँगाबाट खसेजस्तै भए । मैले सामान फिर्ता घर लिएर आँए । त्यो दिनभन्दा अगाडी वहाँप्रति मनभित्रैदेखी सम्मान आँउथ्यो, त्यो दिनदेखी आजसम्म पनि वहाँलाई बाटोघाटोमा भेट्दा मेरो हातहरु नमस्ते गर्न मान्दैनन । अर्काे वहाँप्रति सम्मान आउनु र नआउनुमा वहाँ त्यो जमानाको पनि शिक्षित व्यक्तिमा पर्नुहुन्थ्यो । यदि अशिक्षित मान्छेले त्यसो गरेको भए सायदै ति कुराहरु अहिलेसम्म मनमा गड्थ्यो होला ।
(तर अहिले वहाँले जहाँभेटे पनि मलाई बोलाउनुहुन्छ । मलाई लाग्छ वहाँलाई थाहा छ कि मेरो त्यो कुराले यसको चित्त दुखेको छ भन्ने । सुनेको छु गाँउमा अरुसँग मेरो राम्रो कुराहरु गर्नुहुन्छ रे । यी कुराहरुले वहाँप्रतिको सम्मान फेरी पलाउन थालेको छ म प्रति ।)
२) दुई बर्ष अगाडीको कुराः बर्दघाट चिसापानीमा बिहे खिच्नका लागी मलाई एउटा स्टुडियोबाट प्रस्ताव आयो । मलाई भिडियो खिच्ने जिम्मा र स्टुडियोवालाले फोटो खिच्ने जिम्माका साथ बिहानै बिहेघरमा पुगियो । म झोलाबाट क्यामेरा निकालेर सेटिङ मिलाउदै थिए । त्यत्तिकैमा स्टुडियोवाला साथी अध्यारो मुख सहित मलाई कुनातिर आउन आग्रह गरे । उनले घरबेटीले मलाई बाहिर बाहिरबाट खिच्न आग्रह गरेको कुरा सुनाए । मलाई आत्मसम्मानमा ठेस पुगेको सम्झेर भिडियोनै नखिच्ने भने । म मिडियालाई बोलाउछु भने । स्टुडियोवालाले त्यसो नगर्न आग्रह गरे । मैले सोँचे उनिहरुले मलाई सिधै बोलाएका थिएनन । मलाई स्टुडियोवालाले बोलाएको हो । अनि मेरो साथीले भोलीका दिनहरुमा काम नपाउने अवस्था आउन सक्थ्यो । त्यसैले त्यहाँपनि म पर हटेँ ।
३) कुरा ७० सालतिरको हो । म एक महिनाको लागी पोखराबाट घर आँएको थिएँ । त्यसैबिचमा एकजना उच्च जातको साथीले घुम्दै जाँदा आफ्नो ससुराली लिएर गए । हामी पहिले दुवैजना बैठक कोठामा गयौ । एकछिन बसेपछि साथीको ससुरालीतीरको मान्छे भान्साभएतिर छिरे । साथी आफु उठेर बाहिर आएर खाटमा बसे । भान्साबाट रोटि मगाए र मलाई दिए । म खाँदिन भन्दा भन्दै पनि खान कर गरे । अनि कुरा गर्दै गर्दै चतुर्याई पुर्वक आफु भान्साकोठामा गएर खाए । अवस्था यस्तो देखियो कि म बाहिर अनि उनि भित्र । यो कुरा मैले मनमा मात्रै राखे, कतै कसैलाई भनिन ।
४) २०७८ साल, बैशाख १३ गतेको कुराः मलाई एकजना दाई (जो गैर दलित हो) ले फोन गरेर सुरजभाई चौरासी पुजा खिच्नुपर्याे भनेर खबर गर्नुभयो । म उक्त दिन क्यामेरा लिएर बिहानै गएँ । पहिले वहाँले नास्ता खान आग्रह गर्नुभयो र मलाई भान्सामा जान आग्रह गर्नुभयो । म भान्सामा गएर नास्ता खाँए । घरदेखी केहीपर खेतमा जग्गे बनाईएको थियो । त्यँहा मेरै गाँउका पण्डितहरु हुनुहुन्थ्यो । म त्यहाँ गएर स्वतन्त्र तरिकाले भिडियो खिच्न थाँले । वहाँहरु ठुला ठुला आँखाले मलाई हेर्दै हुनुहुन्थ्यो । म हरेक कुनामा जाँदै भिडियो खिच्दै गर्न थाले । दिँउसो मलाई भिडियो खिच्न बोलाउने दाईले मलाई बैठक कोठामा बोलाउनुभयो र भन्नुभयो सुरजभाई म मलाई र मेरो परिवारलाई बदल्न सक्छु, समाजलाई बदल्न सक्दिन । पण्डितहरुले जग्गे नजिक गएर नखिचिदिन भन्नुभएको छ के गर्ने, यतिबेला अर्काे पण्डित बोलाउन पनि सक्दिन भनेर भन्नुभयो । मैले दाई तपाई टेन्शन नलिनु, यो कुरा आँउछ भन्ने मलाई थाहा थियो । तपाईले म को हुँ भनेर जान्दा जान्दै पनि बोलाउनु तपाईको महानता हो म तपाईलाई गाह«ो पार्ने काम नगरी खिच्छु भने । २ दिन भिडियो खिचेर अन्तिम दिनमा पनि वहाँले म सँग माफी माग्नुभयो तर वहाँको त्यसमा कुनै गल्ति थिएन मलाई थाहा थियो र वहाँहरुले मलाई त्यहाँ जुन सम्मान दिनुभएको थियो, त्यसको अगाडि त्यो कुरा केही थिएन ।
५) २÷३ बर्ष अगाडीको कुराः बर्दघाटबाट दमौली जन्ती जानुपर्ने । केटापक्षबाट भिडियो खिच्न बोलाईएको थियो । बिहानै जन्ती गइयो । दिनभर भिडियो खिचियो राती बर्दघाट आईयो । दुलहाको विवाहमा अर्काे दिन पनि भिडियो खिच्ने चलन छ । सोही अनुसार १० बजेतिर बेहुलाको घरको माथिल्लो तल्लामा जग्गे बनाईएको थियो । त्यहाँ एकजना पण्डित हुनुहुन्थ्यो । म भिडियो खिचिरहेको थिए । एकछिन दुलहा÷दुलही तल जानुपर्ने भयो । एकछिन भिडियो खिच्ने काम पनि रोकियो । सोही समयमा पण्डितजीले मेरो बारेमा सोध्नुभयोः नाम, घर आदी ईत्यादी । मैलेपनि म फलानो हुँ, नाम यो हो, घर यो हो भनेर भनिदिए । केहीछिन पछि दुलाहा÷दुलही आउनुभयो र काम फेरी चालु भयो । अब यसपटक पण्डितजी म प्रति अलि उदार भएको पाँए । वहाले आफुले नपुग्ने ठाँउमा बाबु टपरीमा यो राख्नु÷त्यो राख्नु भनेर मेरो हातैमा थमाईदिनुभयो । मलाई खुशी लाग्यो ।
६) आजभन्दा मात्र केहीदिन अगाडीको कुरा । साँझको बेला थियो । बुवालाई चिया खाने मन भएर मलाई बाबु चिया बनाउ भन्नुभयो । त्यसैबेला एकजना अंकल (जो बाहुन हुनुहुन्थ्यो) मेरो घरमा आउनुभयो र बुवासँग कुरा गर्न लाग्नुभयो । म तयार भैसकेको चिया बुवालाई ल्याएर दिन सकिँन, न बुवामात्रैलाई दिँउ न त्यो अंकललाई पनि दिउ । पहिलेको जस्तो अवस्थामा हाम्रो घरमा कुनैपनि गैरदलित आएर खानुहुन्नथ्यो । केहीछिन पछि सायद त्यो कुरा बुझेर हो वा के हो, त्यो अंकलले आफै दलितका कुराहरु निकाल्नुभयो । साथै अहिले यस्ता कुरा गाँउमा हटिसकेको र बचेकुचेका पनि बिस्तारै हट्ने कुरा बताउनुभयो । सायद दलितको घरको आँगनमा आएर विभेदका कुरा आफै निकालेर दलितको वकालत गर्ने हाम्रो गाँउमा मैले देखेको पहिलो व्यक्ति वहाँनै हो । आजसम्म यस्तो हिम्मत कसैकोमा आएको छैन, भोली आउला त्यो छुट्टै कुरा हो । त्यसपछि त्यो अंकल उठेर जानुभयो । मलाई चिया नदिएकोमा पश्चाताप भयो । सायद अर्काे चोटी आउनुभयो भने अवश्य दिनेछु, वहाँले नखानु वहाँको कुरा हो ।
निष्कर्षः यहाँनेर मैले बुझेको कुरा के हो भने, समस्या जात हुँदै होईन, समस्या वाद हो, समस्या बाहुन हुँदै होईन, समस्या बाहुनवाद हो । केही साथीहरु छोएको पनि खानुहुन्छ, छोईछिटो म मान्दिन, जातिप्रथा म मान्दिन पनि भन्नुहुन्छ, तर आफुभन्दा माथि पदिय हैसियतमा दलितलाई रुचाउनुहुन्न, अर्थात दलितहरु आफुभन्दा ठुलो पदमा हुनुहुन्न भन्ने भित्रि मानसिकता राख्नुहुन्छ । भेदभावकै कुरा गर्दा दलितको हुलमा बाहुन आईहाल्यो भने पनि त्यो बाहुनलाई पनि होच्याईन्छ, यो कुरा म आफैले देखेको छु । त्यस्तै स्याङजाका फटाहानै हुन्छन, झापाका जालीनै हुन्छन आदि÷ईत्यादि पनि विभेदका नमुनाहरु हुन । अर्काे कुरा बाहुनले प्रसङ्गै नबुझी बाहुनको सपोर्ट गर्नु र दलितले पनि यथार्थ कुरा नबुझी दलितको सपोर्ट गर्नुपनि विभेदका उदाहरण हुन । बाहुनले बाहुन हुनुमा गर्व गर्दैमा र दलितले दलित हुनुमा गर्व गर्दैमा कहिल्यै परिवर्तन आँउदैन, यसले त विभेदको निरन्तरता मात्रै गराँउछ । जुनदिन बाहुनले दलितको अस्तित्वमा गर्व गर्नेछ र दलितले बाहुनको अस्तित्वमा गर्व गर्नेछ, त्यसदिन परिवर्तन कसैले छेकेर छेकिनेवाला छैन ।


