पर्वत–७ धाइरिङकी २६ वर्षीया रुपा परियार आज जीवन र मृत्युको दोशाधमा छिन्। उमेरले त केवल २६ वर्ष मात्रै भए पनि उनको शरीर रोगको थलो बनेको छ। मुटु, कलेजो, सुगरजस्ता रोगले च्यापेपछि उनी दुई वर्षदेखि अशक्त बनेकी छन्। न हिँड्न सक्ने अवस्था छ, न त उठबस गर्न नै। चर्पी जानसम्मका लागि पनि उनी अरूमाथि निर्भर छिन्।
जुन जस्तै उज्यालो देखिने रुपाको जीवन अहिले भने जुन बिना अँध्यारोसरी बितिरहेको छ। दुई छोरीकी आमा भएकी रुपा आफ्ना छोरीलाई सम्झँदा दिनरात आँसु झार्छिन्। उनी भन्छिन्– “म मरेर गएँ भने मेरा छोरीको के होला?”
तर रोगभन्दा ठूलो पीडा रुपालाई आफ्नै परिवारबाट मिलेको घाउ हो। श्रीमान् सागर परियारले उनलाई साहारा दिनुको साटो उपेक्षा गरेका छन्। रुपाले सुनाइन्– “कहिलेकाहीँ रक्सी खाएर आउँछन् र भन्छन् म अर्को बिहे गर्छु। बिहे दर्ता र नागरिकता दे, अनि म जान्छु।”
सानै उमेरमा विवाह भएको र पढाइ लेखाइ गर्न नपाएकी रुपा अहिले आमासँगै बस्छिन्। तर आमाकै जीवन पनि दुःखमय छ। ६२ वर्षकी आमा फूलमाया परियारले आफ्ना श्रीमान र दुई छोरालाई गुमाइसकेकी छन्। आफ्नै खुट्टा राम्ररी नचले पनि उनी छोरीको उपचारका लागि दौडधुप गर्न विवश छिन्। महिनाको ११ सय रुपैयाँ कोठा भाडा तिर्न नसक्ने उनी भन्छिन्– “हामीसँग खाने गास छैन, बस्ने बास छैन। तर छोरीलाई बाँच्नुपर्छ भन्ने रहर छ।”
अस्पतालले निरन्तर उपचार आवश्यक छ भने पनि पैसाको अभावले रुपा उपचार पाउन सकेकी छैनन्। घरबेटीले समेत कोठा छिटो खाली गर्न दबाब दिइरहेका छन्। यो पीडा उनीहरूमाथि अर्को घाउजस्तै बनेको छ।


