म्याग्दी – माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) मा न्यू वेस्ट पोइन्ट आवासीय माविकी बर्खा थापाले ३.९१ जीपीए प्राप्त गर्दै म्याग्दी जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएकी छन्। साविक धौलागिरी अञ्चल अन्तर्गतका चारवटै जिल्ला (म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ) मा समेत अहिलेसम्मकै उच्च जिपिए भएको विद्यालय पक्षको दाबी छ।
बर्खा थापा हाल म्याग्दीको बेनी नगरपालिका–८ मा बसोबास गर्दै आइरहेकी छन्। उनी बागलुङ नगरपालिका–१०, भकुण्डे स्थायी बासिन्दा हुन्। न्यू वेस्ट पोइन्ट विद्यालयमै आधारभूत तहदेखि पढ्दै आएकी थापाले एसईई परीक्षामा अपेक्षा अनुरूपको नतिजा नआएको गुनासो गर्दै कक्षा १२ को नतिजाले त्यस अभाव पूरा गरेको बताएकी छन्।
विद्यालयका भाइस प्रिन्सिपल कृष्ण जिसीका अनुसार बर्खा मेधावी मात्र नभई आत्मविश्वासी र बहुप्रतिभा भएकी विद्यार्थी हुन्। “उनकी आमाले छोरीको एसइइमै उच्च नतिजा हेर्ने चाहना राख्नुभएको थियो। बर्खाले त्यो सपना कक्षा १२ को नतिजाबाट पूरा गरेकी छिन्,” जिसीले बताए।
बर्खाको अनुशासन, निरन्तर अभ्यास, र पाठ्यपुस्तकसँगै अन्य स्रोत अध्ययन गर्ने बानीले पनि नतिजामा ठूलो प्रभाव पारेको शिक्षकहरूको भनाइ छ। विद्यालयका विभिन्न कार्यक्रमका साथै अन्य संघ-संस्थाहरूको मञ्चमा उद्घोषण समेत गर्दै आएकी थापाको बहुआयामिक प्रतिभा विद्यालयमा परिचित छ।
आगामी दिनमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (BBA) अध्ययन गर्ने लक्ष्य राखेकी बर्खाले मेहनती आमाको सपना साकार भएको भन्दै विद्यालयका शिक्षकहरूसँग आफ्नो खुसी बाँडेकी छन्।
उनको उत्कृष्ट उपलब्धिको सम्मानस्वरूप विद्यालयले उनलाई नगद १० हजार रुपैयाँसहित विशेष सम्मान प्रदान गरेको छ। सोही अवसरमा उत्तीर्ण विद्यार्थीहरू र अभिभावकहरूलाई पनि सम्मान गरिएको थियो।
न्यू वेस्ट पोइन्ट आवासीय माविले यस वर्षको एसइइ परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याएको विद्यालय प्रशासनले जनाएको छ।


