म्याग्दी, २९ वैशाख । धवलागिरि गाउँपालिका लाई १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
खोपमार्फत रोगको रोकथाम, नियन्त्रण तथा उन्मूलन गरी शिशु, बालबालिका, मातृ तथा अन्य नागरिकको मृत्यु दर घटाउने उद्देश्यसहित गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो । मंगलबार आयोजित कार्यक्रममा गुणस्तरीय खोप सेवाको निरन्तरता र विस्तारप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो ।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सम्झना काकीका अनुसार सातवटै वडामा गरिएको घरधुरी सर्वेक्षणका क्रममा जन्मदेखि २३ महिनामुनिका १५७ जना तथा १६ महिनादेखि पाँच वर्षमुनिका ५३४ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप प्राप्त गरेका छन् ।
बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुबेला तथा जापानिज इन्सेफ्लाइटिसविरुद्धका खोप समयमै प्राप्त गरेपछि पूर्ण खोप प्राप्त गरेको मानिने व्यवस्था रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रत्येक बालबालिकालाई पूर्ण खोपको पहुँच सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार गाउँपालिकाले वार्षिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, प्रदेश जनस्वास्थ्य कार्यालय का प्रमुख भुवन ठाकुराथी, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
खोप अभियान सफल बनाउन योगदान पुर्याउने स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।

