निलम गाँउले
बाल्टिमोर अमेरिका

मगर सँघ अमेरिकाको DMV ( DC, Maryland and Virginia ) शाखाले गत आइतबार July 10, 2022 को दिन बाल्टिमोर स्थित Gunpowder State Falls Park मा आफ्नो ग्रिष्मकालिन बनभोज कार्यक्रम भव्य रमाइलोका साथ सम्पन्न गरेको छ । भाषण र आसान हुने कुनैपनि ओपचारिक कार्यक्रम नभएको यस बनभोज कार्यक्रम साँच्चै नै रमाइलो नै रमाइलो कार्यक्रमहरुकासाथ सम्पन्न भएको थियो ।

डिएमभी शाखाका महासचिव श्री प्रविण पुन ज्युले सण्चालन गर्नु भएको उक्त कार्यक्रममा बिभिन्न रोचक खेलहरु पनि खेलाइएको थियो । उक्त खेलहरु शाखाका आइटी सँयोजक श्री यज्ञ थापाले खेलाउनु भएको थियो । खेलहरुमा राफल चिठ्ठा, बिँगो, जोडीद्वरा निधारमा बेलुन राखेर निश्चित दुरी सम्म पुगेर फर्कने क्रममा जोडीले फेरी ढाडमा सोही बेलुन अडाएर पहिलेको स्थानमा फर्कनु पर्ने खेल र साँगितीक कुर्ची खेलहरु खेलाइएको थियो । राफल तथा बिँगो जित्ने धेरैजसो मनकारीहरुले आफुले जितेको रकम मगर सँघ डिएमभी शाखालाइ फिर्ता पनि गरेका थिए ।

नितान्त नि:शुलक प्रवेश गर्न पाइने यस बनभोज कार्यक्रममा धेरै मनकारी मगरहरु तथा पाहुनाहरुले मगरसँघलाइ स्वत: स्फुर्त चन्दा पनि प्रदान गर्नु भएको थियो । मगर सँघको सदस्यता नविकरण र नयाँ सदस्यता लिनेहरुको पनि उल्लेख्य रुपमा बृद्दी भएको कुरा करिष्मा आले मगर ज्युले बताउनु भएको छ ।

यस शाखाका अधक्ष्य श्री ललित तिलिजा ज्युले यो बनभोज कार्यक्रममा आउनु भएका सबैजनालाइ ह्रदयदेखी स्वागत छ भन्दै यो हाम्रो आफ्नै पारिवारिक बनभोज भएकोले आफ्नै सम्झेर मिठो नमिठो खानेकुराहरु खानुका साथै रमाइलो गर्नमा साथ दिनु होला भनेर सबैलाइ आग्रह गर्नु भएको थियो । साथै मिठा मिठा अचार, सेलरोटी, सलाद, चना घर घरबाटै बनाएर ल्याउनु हुने मगर महिला दिदी बैनी सबैलाइ ह्रदयदेखी धन्यबाद दिनु भएको थियो भने बनभोजस्थलमा मिठा मिठा दाल भात खसिको झोल र बिबिक्यु पकाएर खुवाउनु हुने सबै मगर दाजुभाईहरु र पेय पदार्थहरु, पानी सोडा जस्ता पिउने पदार्थहरु दिएर सहयोग गर्नुहुने समपुर्ण दानविरहरुमा धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा साँस्कृतिक सँयोजक श्री खिम मश्राङी मगरको सँयोकत्वमा मगरहरुको पहिचान बोकेको कौडा गित सँगै नृत्य पनि प्रस्तुत गरिएको थियो । कौरा नाच्ने मगर्नीहरुमा हरसिता राना भिमा मश्राङी, करिष्मा आले र फर्मिला आले हुनुहुन्थ्यो भने कौडा गाउने मगरहरुमा खिम मश्राङी, राज पुन, मोहन मश्राङी, गम राना होम चितौरे लगायत अन्य मगरहरु हुनुहुन्थ्यो । सम्भवत अमेरिकाको डिएमभी क्षेत्रमा यो मगरहरुको कौडा गित र नाच प्रतक्ष्य रुपमा प्रस्तुत भएको पहिलो पटक हुनुपर्छ ।

साथै मगरहरुको कला र सँस्कृतिलाइ बिदेशमा भएपनि जोगाइ राख्न जोश जाँगर चलिराखोस भन्ने हेतुले मगर सँघलाइ अमेरिकालाइ माया गर्दै आउनुभएका दम्पती श्री निलम कुमार गर्बुजा मगर र शितल गर्बुजा मगरले ६ वटा खैजडी मगर सँघ अमेरिका डिएमभी शाखाका अधक्ष्य श्री ललित तिलिजा र साँस्कृतिक सँयोजक खिम मश्राङी मगरलाइ उपहार दिनु भएको थियो ।

यसरी कोडा नृत्य प्रस्तुत गर्दा बनभोजमा आएका सम्पुर्ण सहभागीहरु एकदम रमाइलोका साथ हेरिरहेका थिए । यसपछि सानी सानी दुइवटी मगर्नी नानीहरुले पनि आ-आफ्ना नृत्य प्रस्तुत गरेर दर्शकहरुलाइ मनोरन्जन दिलउनु भएको थियो ।

समग्रहमा भन्नु पर्दा यो बनभोज कार्यक्रम अहिले सम्मकै मनोरन्जनातमक भएको कुरा सबैको मुखारबिन्दुबाट सुनिएको थियो । कार्यक्रमको अन्तिमातिर चर्चित लोक तथा दोहोरी गायिका सृजना बिरही थापाले मगरहरुको पहिचान बोकेको अर्को गित सालैजो गाएर सबैलाइ नचाउनु भएको थियो । Once more Once more भन्ने सुने पछि फेरी पनि त्यसै सालैजोलाइ दोहोर्याएर गाउनु भएको थियो । अन्तम केहि डिजेका गितमहरुमा नाच्दै कार्यक्रम सम्पन्न भएको थियो ।


