म्याग्दी । समयको परिवर्तन र प्रविधिको विकाससँगै नेपाल हुलाक सेवाले आफूलाई परिमार्जन गर्दै नागरिकमैत्री सेवा विस्तार गरिरहेको म्याग्दी जिल्लाका विभिन्न पालिकामा कार्यरत हुलाक कार्यालय प्रमुखहरूले बताएका छन् । उनीहरूले हुलाक सेवा अब परम्परागत चिठीपत्र आदान–प्रदानमा मात्र सीमित नरही सरकारी तथा वित्तीय कागजात ढुवानी, कुरियर सेवा तथा पासपोर्ट वितरणलगायतका सेवामार्फत नागरिकको घरदैलोमै पुग्न थालेको बताएका हुन् ।
धौलागिरि गाउँपालिका अन्तर्गत मुना हुलाक कार्यालयका प्रमुखले समयअनुकूल हुलाक सेवामा सुधार र परिमार्जन हुँदै गएको उल्लेख गर्दै नागरिकलाई निर्धक्क भएर हुलाकको सेवा उपयोग गर्न आग्रह गरे।
रघुगंगा गाउँपालिकाका हुलाक कार्यालय प्रमुखले पछिल्लो समय हुलाकमार्फत नागरिकका पासपोर्टलगायत महत्वपूर्ण कागजात घरघरमै पुर्याउने सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए। उनले नेपालमै यस्तो सेवा म्याग्दी जिल्लाबाट सुरु भएको दाबी समेत गरे ।
मालिका गाउँपालिका–दरवाङस्थित हुलाक कार्यालयका प्रमुख तारा बहादुर छन्त्यालले हुलाक कार्यालयले हाल विभिन्न संघसंस्था, वित्तीय संस्थाका कागजात तथा चिठीपत्रको सुरक्षित ओसारपसार गरिरहेको जानकारी दिए । प्रविधिको तीव्र विकाससँगै परम्परागत हुलाक सेवाको प्रयोग केही घट्दै गए पनि सेवाको स्वरूप आधुनिक बन्दै गएको उनको भनाइ छ। उनले जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाको नेतृत्वमा जिल्लाका हुलाक गतिविधिमा उल्लेखनीय सुधार आएको पनि बताए ।
अन्नपूर्ण गाउँपालिका पोखरेबगर हुलाक कार्यालयका प्रमुख श्यामप्रसाद शर्माले हुलाक कार्यालयले अत्यन्तै सर्वसुलभ शुल्कमा कुरियर सेवा प्रदान गर्दै आएको जानकारी दिए ।
मंगला गाउँपालिकाका हुलाक कार्यालय प्रमुख कृष्ण तिवारीले नेपाल सरकारको १०० दिने कार्यदिशाको बुँदा नम्बर २७ तथा मन्त्रिपरिषद्को निर्णयअनुसार हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने नीति कार्यान्वयनमा आएसँगै कुरियर सेवा सञ्चालन गरिएको बताए। यसबाट नागरिकले थप सहज, भरपर्दो र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे ।
हुलाक कार्यालय प्रमुखहरूले समयानुकूल सेवाको दायरा विस्तार गर्दै गुणस्तरीय, भरपर्दो र प्रभावकारी सेवा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएका छन् । सरकारी कागजात, पासपोर्ट, वित्तीय तथा अन्य आवश्यक सामग्रीको सुरक्षित ढुवानीका लागि हुलाक सेवाको अधिकतम उपयोग गर्न उनीहरूले सबै नागरिकसँग आग्रह गरेका छन् ।
भिडियो link :
https://www.facebook.com/reel/2861614824203893

