सूर्योदय न्युज, बादल शाही |
जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामा कोरोना महामारीको लागि भन्दै रकम जम्मा नगर्न सुचना जारी गरेको छ । कोभिडको उपचार, रोकथाम तथा नियन्त्रणको नाममा जथाभाबी रकम उठाइएको भन्दै प्रशासनले यस्तो सुचना जारी गरेको हो ।
पछिल्लो समय म्याग्दीमा कोभिडको संक्रमणको संख्या ह्वात्तै बढे संगै जिल्लाका विभिन्न संघ, संस्था, क्लव तथा विभिन्न राजनीतिक दलका संगठनहरुले विभिन्न अभियान संचालन गरि अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गरिरहेका थिए । कोभिडका कारण लकडाउन भए पछी छाक तार्न मुस्किल परिरहेकाहरुलाई विभिन्न समुह तथा सङ्गठनहरुले सहयोग सकलन गरि सहयोग हस्तान्तरण गर्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालयले भने यस्तो कार्य नगर्न सुझाएको छ । कसैले कोभिड नियन्त्रणमा सहयोग गर्न चाहने भए राज्यको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गर्न सुचित गरेको छ । आफूखुशी रकम जम्मा गर्ने तथा अभियानहरु संचालन भएको सुचनाहरु आएकोले यस्तो कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशनमा सुचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।



