रबि दाजू, चिन्ता नलिनु होला, म्यानमारको प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई कम्तिमा १८ वटा अभियोग लगाएर करिब १९० वर्षको जेल सजाय तोकिएको थियो। हाल सुकी नदरबन्दमा छिन्। सुकीले आफूलाई लागेको आरोपहरु अस्विकार गर्दै आएकी छिन्। विपी कोइराला लाई पनि राजा महेन्द्रले ८ बर्ष नजरबन्दमा राखेका थिए। यति सम्मकी विपीले त निर्वासनमा सम्म जानु परेको थियो। तर पनि विपीले कहिल्यै हार खाएनन्। केही महिना अगाडी भारतमा आम निर्वाचन हुनु भन्दा केही दिन अगाडी दिल्लीको बाहालवाला मूख्यमन्त्री केजरिवाल लाई शराब घोटला गरेको आरोपमा ५ महिना भन्दा बढी तिहाड जेल भित्र कैद गरियो। अन्तरवार्ता र भाषणमा सधै गोदी मिडीया झुण्डाउने केजरिवाल प्रम मोदीको कडा आलोचक थिए। अरुका कुरा छाडौ, प्रचण्डलाई आतंककारी घोषणा गरेर रेड कर्नर नोटिस जारी गरिएको थियो। मान्छेको टाउको काटेको आरोपमा केपी ओली १४ बर्ष जेल बसेका थिए। टिकापुर काण्डमा जेल हालिएका रेशम चौधरीलाई जन्म कैदको फैसला थियो। यिनले जेल भित्रै बाट नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। कागताली मिलाएर आममाफी पाए पछि हाल यिनी नाक फुलाएर हिडिरहेका छन्।
राजनितिक नेताहरु पक्राउ पर्नु, जेल पर्नु, तिनीहरुको हत्या प्रयास हुनु सामान्य कुरा हो। रंगभेद विरोधी नेता नेलशन मण्डेला लाई बिना कारण २७ बर्ष जेलमा राखियो। भारतिय स्वतन्त्र संग्रमाका नेता जवारलाल नेहरू लाई ९ बर्ष जेलमा राखिएको थियो। नेताको लागी जेल सामान्य कुरा हो। नेताको त ज्यान पनि लिन सक्छन्। तपाई आफै काम गरेर फर्किएको अमेरिका जस्तो विकशित देशमा राष्ट्रपतिको उमेद्वार ट्रम्प लाई दुई पटक सम्म मार्ने प्रयास गरियो। षड्यन्त्रपुर्वक कृष्ण बहादुर महराको चस्मा फुटाए। मानव बेच बिखन जस्तो संगठित अपराध गरेका बालकृष्ण खाँड धरौटीमा रिहा भैसकेका छन्। यसकारण तपाई आत्तिनु पर्ने कुनै कारण छैन। किनकी तपाईले कुनै फौजदारी कसुर गर्नु भएको छैन। तपाई माथी लागेको सहकारी ठगीको आरोप राष्ट्रिय रुपमा देखा परेको संकट हो। छानबिन नै गर्ने हो भने नेपालमा एक घरमा एक सहकारी ठग छन्। अरु ठगलाई कसैले पनि चिन्दैनन्, तर तपाईको नाम त गिनिज बुकमा पनि छ। त्यसैले तपाई सेलिब्रेटी ठग बन्नु भयो। अरुले विदेशीको पैसा खान्छन्, कसैले थाहा पाउदैनन्। तपाइले सहकारीको पैसा खानु भयो, सबैले थाहा पाए। फेरी एक्लै खाएको भए पनि त हुन्थ्यो तर साथीभाई, छरछिमेक सबैलाई बाँडेर खानुभयो।
सरकारको मनोविज्ञान हेर्दा तपाईलाई एक, दुई बर्ष जेल भित्र राख्ने मनाशाय देखिन्छ। तर तपाई जेल पर्नु भनेको सबैको नजरमा तल पर्नु हैन। तपाई नेतृत्वको पार्टी रास्वपा झन् माथी पुग्नु हो। अदालतले कहिले के फैसला गर्छ थाहा भएन, तर तपाईको न्यायको लागी जनताले आगामी ०८४ को चुनावमा पक्कै पनि ठूलो फैसला गर्नेछन्। आज सडकमा नदेखिएका, सामाजिक संजालमा नदेखिएका जनताहरु त्यो दिन मतदान केन्द्रमा देखिने छन्। जस्तो की विश्वभरी लोकप्रिय क्रिकेटर पाकिस्तानका पूर्व प्रधानमन्त्री ईमरान खान लाई अरुले दिएको उपहारहरु पारदर्शि नभएको बाहानामा तोशाखाना काण्ड मच्चाएर जेलमा हालिएको छ। आफ्नो नेता ईमरान खान जेल भित्रै रहेको अवस्थामा उनको पार्टी पिटीआईले केही महिना अगाडी सम्पन्न चुनावमा सम्मानजनक विजय हाँसिल गरेको थियो। सैनिकले मतपत्रहरु साटफेर गराएर ईमरान खानको पार्टिलाई दुई तिहाई बहुमत आउनबाट रोकिएको थियो। तपाईले जस्तै धेरै प्रेमिका लाई धोका दिए पनि ईमरान खानले आफ्नो देशलाई निकै माया गर्छन्। कम्तिमा नेपालका निर्वाचनहरु निस्पक्ष नै गरिन्छन्। यसकारण तपाई जेल गए पनि तपाईको घण्टी समर्थकहरु जेल जादैनन्। राम्री-राम्री केटीहरु पनि जेल जादैनन्। अनि तपाईलाई सद्दाम हुसेन लाई जस्तो फाँसीको सजाय दिन लागिएको पनि हैन।
भन्न त तपाईका भेडा जस्ता समर्थक, शुभचिन्तकहरुले अरु पार्टिका नेता कार्यकर्ताहरु लाई तपाईको दुश्मन भन्छन्। तर सबैले घण्टी बजाउनु पर्छ भन्ने छैन। कोहीले मादल बजाउछन्, कोहीले मुरली बजाउछन्, कोहीले तबला बजाउछन्। म पनि बेलाबेलामा डम्फू बजाउछु। फरक मत राख्ने तिनीहरु केवल तपाईको प्रतिस्पर्धी मात्रै हुन्, कहिल्यै दुश्मन हुन सक्दैनन्। दुश्मन त आफ्नै साथी र पार्टी भित्र हुन्छन्। दुश्मन त आफ्नै घर परिवार भित्र हुन्छन्। बाबुराम, प्रचण्डको दुश्मन हुन्। केपी ओलीको दुश्मन माधव नेपाल हुन्। गिरिजाको दुश्मन देउवा थिए। राजा विरेन्द्रको दुश्मन आफ्नै छोरा थिए। जुलियस सिजर, बेनजीर भुट्टो र मदन भण्डारीका दुश्मनहरु पनि आफ्नै नजिकका मान्छेहरु थिए। तिनीहरु सधै संगै खान्थे, संगै बस्थे थिए, संगै हिड्थे। दुश्मन बनेर निस्किएका मुकुल ढकाल र ढाका कुमारहरु पनि तपाई संगै थिए। यसकारण तपाई र तपाईको भेडा समर्थकहरुले दुश्मनको परिभाषा बदल्नु पर्छ। स्वर्णिम, शिशिर र बिराजभक्तहरु पनि तपाईको दुश्मन हुन सक्छन्। सामान्य लेखपढमा रुची भएको दिल निशानी मगर जस्ता मान्छेहरुले तपाईको केही बिगार्न सक्दैनन्।तर प्रचलित ऐन अनुसारको कारबाही शिफारिसमा दस्तखत गरेर चीन भ्रमणमा निस्किनेहरुले धेरै थोक बिगार्न सक्छन्। ज- जस्लाई तपाईले लोटरी पारेर संसद पद जिताई दिनु भयो, तिनीहरुले नै तपाई लाई हराउन सक्छन्।


