दाङ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले माओवादी घटकहरू रुपान्तरण भए मात्र एकता सम्भव हुने बताएका छन्।
दाङमा आयोजित सहिद ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले माओवादी पुनः एक हुनुपर्ने आवश्यकता औंल्याए। विप्लवले भने, “माओवादी एकताको समय आएको छ, तर पहिले रुपान्तरण हुनुपर्छ। बिग्रिएका हामी नै हौं। काँग्रेस र एमालेको कुरा पछि गरौं, तर सुरुमा माओवादी सुधारिनुपर्छ।”
उनले २०६४ को जनमत माओवादीले थेग्न नसकेको स्वीकार्दै सहिद परिवार, घाइते योद्धा तथा बेपत्ता परिवारहरूले एकताको माग गरिरहेको बताए। उनले “वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति नै हाम्रो मार्ग हो” भन्दै माओवादी जनयुद्धलाई अपराधिकरण गर्ने प्रयास भइरहेको आरोप लगाए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले “माओवादी घटकहरूबीच ढिलोचाँडो एकता हुन्छ” भन्ने दाबी गरे। “देशको राजनीति अस्थिर छ। कांग्रेस-एमाले नेतृत्वको सरकार नै संकटमा छ। यस्तो अवस्थामा जनताको आशा माओवादीमा छ,” उनले भने।
कार्यक्रममा माओवादी केन्द्रका नेता इन्द्रजित थारु, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, नेकपाका केन्द्रीय सदस्यहरू सविन सी, सम्झना सी, पाटन सी, तिलक सीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।


