बेनी नगरपालिकाले केही समयअघि आयोजना गरेको सडक नाटक कार्यक्रमबारे सार्वजनिक जानकारी माग गरिएको छ। बेनी–९ निवासी रबि कार्कीले सूचना अधिकार प्रयोग गर्दै नगरपालिकामा निवेदन दर्ता गराएका हुन्। उनले २०८२ सालमा सम्पन्न भएको भनिएको सडक नाटक कार्यक्रमको आयोजनासम्बन्धी विभिन्न विवरण माग गरेका छन्।
कार्कीका अनुसार उक्त कार्यक्रम मधुवन मिडिया इन्टरनेशनल नामक संस्थाको सहकार्यमा गरिएको हो। निवेदनमा कार्यक्रमको कार्ययोजना, निर्णय प्रक्रिया, टेण्डर दिने आधार, खर्च विवरण, सार्वजनिक सूचना प्रकाशनबारे प्रश्न उठाइएको छ। उनले स्पष्ट रुपमा भनेका छन् कि व्यक्तिगत रुपमा कार्यक्रमप्रति चासो रहेकाले यसबारे थप जानकारी आवश्यक परेको हो।
सूचना अधिकार ऐन २०६४ को धारा ३ र ७ तथा नेपालको संविधानको धारा २७ को आधारमा निवेदन दर्ता गरिएको हो। निवेदनमा नगरपालिकालाई सार्वजनिक खर्चमा भएका गतिविधि पारदर्शी बनाउन आग्रह गरिएको छ।
कार्कीले आफ्नो निवेदनमा कार्यक्रम कहिले र कहाँ सञ्चालन भयो भन्ने मिति विवरण, आयोजना सम्बन्धी निर्णय, खर्च विवरणसहितको बिल भरपाई प्रतिलिपि र अन्तिम प्रतिवेदन समेत माग गरेका छन्। साथै, सूचनाको उपलब्धताका लागि लाग्ने शुल्क कानुनअनुसार बुझाउन तयार रहेको बताएका छन्।
नागरिकतासहित आवश्यक कागजात संलग्न गरिएको यो निवेदनले स्थानीय निकायको पारदर्शिता र उत्तरदायित्वबारे नयाँ बहस सुरु गराउने अपेक्षा गरिएको छ।


