बेनी नगरपालिका, म्याग्दीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७१ करोड ८० लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मङ्गलबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १७औँ नगरसभामा उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

उपप्रमुख लामिछानेका अनुसार कुल बजेटमध्ये चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रस्तुत गर्नु भएको विवरणअनुसार बजेटका स्रोतहरू यस प्रकार रहेका छन्:
-
संघीय समानीकरण अनुदान : ११ करोड ६३ लाख
-
संघीय राजस्व बाँडफाँड : ९ करोड १३ लाख २० हजार
-
गण्डकी प्रदेश सरकार समानीकरण अनुदान : १ करोड ५८ लाख ८६ हजार
-
गण्डकी प्रदेश सरकार सवारी साधन कर बाँडफाँड : १ करोड ८९ लाख ५३ हजार
-
संघीय सर्तसहितको कार्यक्रम : ३७ करोड ४२ लाख
-
गण्डकी प्रदेश सर्तसहित विशेष अनुदान : १ करोड २ लाख
-
संघीय सरकारको समपूरक अनुदान : ६५ लाख
-
संघीय सरकार विशेष अनुदान : ६९ लाख
-
आन्तरिक आम्दानी : ४ करोड ३३ लाख ५० हजार
-
मालपोत तथा रजिष्ट्रेसन बाँडफाँड : ८५ लाख
-
चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम : समावेश गरिएको
नगर प्रमुख सुरत केसीले बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखी निर्माण गरिएको जानकारी दिनुभयो। उहाँद्वारा प्रस्तुत नीति तथा कार्यक्रम नगरसभाबाट पारित भइसकेको छ भने उपप्रमुख लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा छलफलपछि निर्णय हुने नगरपालिकाले जनाएको छ।
यस वर्ष बेनी नगरपालिकाको बजेट अघिल्लो वर्षको तुलनामा केही घटेको छ।



