बेनी, म्याग्दी | बेनी नगरपालिका–८ बाट सुरु गरिएको क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणालीले नगरबासीको दैनन्दिन सेवा–सुविधा उपयोगमा उल्लेखनीय सहजता ल्याएको छ। यूएनडिपी नेपालको १६ लाख र नगरपालिकाको ८ लाखको लगानीमा शुरु भएको यो प्रविधिमैत्री अभियानले घर–घरमा डिजिटल पहुँच पुर्‍याउँदैछ।

नगरप्रमुख सुरत केसीका अनुसार हालसम्म ७ हजार ५ सयभन्दा बढी घरमा क्यूआर कोड जडान भइसकेको छ। “प्रारम्भिक चरणमा छुटेका र बसाइँसराइ गर्ने परिवारलाई लक्षित गर्दै आगामी आवमा थप बजेट विनियोजन गरिएको छ,” मेयर केसीले जानकारी दिए।

कस्ता सूचना संकलन गरिन्छ?

डिजिटल घर नम्बर प्रणालीमार्फत हरेक घरको भौतिक अवस्थादेखि घरमुलीको व्यक्तिगत विवरण, स्वास्थ्य, शिक्षा, रोजगारी, गर्भवती र सुत्केरी महिला, पिउने पानी, शौचालय, विजुली, इन्टरनेटको उपलब्धता, फोहोर व्यवस्थापन, विपद् जोखिम लगायतका विवरण संकलन हुने गर्छ। यसमा जिपिएस (GPS) आधारित लोकेशन पनि जोडिएकोले उद्धार र राहतमा समेत सहुलियत मिल्ने बताइएको छ।

सेवा उपयोग र पारदर्शितामा सहयोग

नगरप्रमुख केसीका अनुसार, यो प्रणालीले सेवा वितरणलाई पारदर्शी बनाएको छ। “एकपटक अनुदान प्राप्त गरेका लाभग्राहीको विवरण प्रणालीमै रहेकाले दोहोरो अनुदान वितरण रोकिएको छ,” उनले भने, “यही प्रणालीकै आधारमा आपतकालीन राहत र नगद सहायता पनि सहज रूपमा वितरण भइरहेको छ।”

नगरबासीको उत्साहजनक साथ

सुरुवाती दिनमा जानकारी अभावका कारण केही शंका देखिए पनि अहिले नगरबासीहरूले यस सेवा प्रणालीलाई सकारात्मक रूपमा स्वागत गरेका छन्। “नयाँ घर बनाउनेहरूले आफैं नगरपालिका आएर डिजिटल नम्बर माग्न थालेका छन्,” केसीले उल्लेख गरे।

अनुकरणीय पहल

यो प्रविधिमैत्री अभ्यास प्रभावकारी भएको देखेर म्याग्दीका अन्य स्थानीय तहले समेत यस प्रणालीलाई अभ्यास गर्न थालेका छन्। “हामीले प्रविधिलाई जनमुखी सेवा दिने माध्यम बनाएका छौं, यो आत्मगौरवको कुरा हो,” मेयर केसीले भने।

नगरबासीको भूमिकाको अपेक्षा

प्रणालीको सफलताको लागि नगरबासीबाट सहकार्य अपेक्षित रहेको मेयर केसीको भनाइ छ। “नगरबासीले सत्य विवरण उपलब्ध गराउने, आवश्यक भएमा अपडेट गराउने, प्रणालीको प्रयोग सिक्ने र सिकाउने कार्यमा सहकार्य गर्नुपर्छ,” उनले अनुरोध गरे।

बेनी नगरपालिकाले सूचना प्रविधिमा गरेको यो महत्वपूर्ण कदमले प्रविधिमैत्री, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्थाको उदाहरण प्रस्तुत गरेको छ। आगामी वर्षमा सेवा विस्तार गर्दै देशकै उत्कृष्ट नमुना बनाउने नगरपालिकाको लक्ष्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय