पोखरा, साउन ५ (सूर्योदय न्युज):
गण्डकी प्रदेशमा यो वर्षको पुस महिनादेखि हालसम्म ६०९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार वर्षा सुरु भएसँगै संक्रमणको दर दिनानुदिन तीव्र रुपमा बढेको छ।
सबैभन्दा धेरै कास्कीमा – ३०७ जना संक्रमित भेटिएका छन्, जसमध्ये १०३ जना पोखरा महानगरपालिकाका हुन्। तनहुँमा १०१, लमजुङमा ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा ४ जनामा संक्रमण देखिएको छ।
मुस्ताङ र मनाङमा भने हालसम्म डेङ्गी संक्रमित भेटिएको छैन।
गत जेठमा १६९ जनामा संक्रमण देखिएको थियो भने असारदेखि हालसम्म १८५ जनामा थप संक्रमण पुष्टि भएको छ। साउनदेखि कात्तिकसम्म संक्रमण उच्च जोखिममा रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डेङ्गी रोकथाम चुनौतीपूर्ण
गत वर्ष मात्रै पोखरा महानगर क्षेत्रमा ८६०० भन्दा बढी संक्रमित भेटिएका थिए, जसमा ३ जनाको मृत्यु भएको थियो। यस वर्ष संक्रमण नफैलियोस् भनेर स्वास्थ्य मन्त्रालय, स्थानीय तह र अस्पतालहरू सचेत अवस्थामा रहेका छन्।
स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले डेङ्गी नियन्त्रणका लागि सवै तहका निकायहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि सञ्चालन भइरहेको छ।
डाक्टरको चेतावनी
धवलागिरी प्रादेशिक अस्पतालका प्रमुख डा. किरण तिवारीका अनुसार –
“डेङ्गी फैलाउने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले प्रायः पुराना टायर, ड्रम र अन्य स्थानमा जमेको सफा पानीमा लार्भा हुर्काउँछ। त्यस्ता बासस्थान तत्काल नष्ट गर्नुपर्छ।”


