गलेश्वर — म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा एकदिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरको बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेले ब्यानर वाचन गर्दै उद्घाटन गर्नुभएको थियो। शिविरबाट ८२ जना महिलाले स्वास्थ्य सेवा लिएका छन्।
गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा आश्रित वृद्धा महिला तथा गलेश्वर बजार आसपासका स्थानीय महिलालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा प्रदान गरिएको गलेश्वरधाम आमा समूहकी सचिव निशा महत जिसीले जानकारी दिनुभयो।
उद्घाटन समारोहमा बोल्दै उपमेयर लामिछानेले यस्ता शिविरहरूले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो। उहाँले नगरपालिकाले जनताको आवश्यकता र समस्यालाई मध्यनजर गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो। डा. बास्तोलाले ज्येष्ठ नागरिक कृष्ण गिरीको स्वास्थ्य परीक्षण गर्दै शिविरको शुभारम्भ गरिएको जानकारी दिनुभयो। टोलीले स्त्रीरोग सम्बन्धी समस्या पहिचान, उपचार परामर्श तथा आवश्यक औषधि वितरण गरेको जनाएको छ।
कार्यक्रममा बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्रबहादुर केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविर प्रशंसनीय र उदाहरणीय रहेको बताउनुभयो।
गलेश्वरधाम आमा समूहकी अध्यक्ष फुलकुमारी रोकाले महिलाको स्वास्थ्य समस्या अझै पनि समाजमा खुलेर व्यक्त गर्न कठिन हुने विषय रहेको उल्लेख गर्दै यस्ता शिविरले महिलालाई समयमै स्वास्थ्य परीक्षण गराउन प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता जनहितकारी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
शिविरमा भिआईए परीक्षण गरिएकामध्ये एक जनामा पिसाब थैलीसम्बन्धी समस्या, दुई जनामा आङ खस्ने समस्या देखिएको र दुई जनाको रिङ राखिएको डा. बास्तोलाले जानकारी दिनुभयो। गम्भीर समस्या देखिएकी आङ खसेकी एक महिलालाई शल्यक्रियाका लागि तत्कालै प्रादेशिक अस्पताल बेनी बोलाइएको उहाँले बताउनुभयो।
बेनी नगरपालिका र युगल फार्मेसीको सहकार्यमा सर्वसाधारणका लागि आवश्यक औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। यसबाट आर्थिक रूपमा कमजोर तथा सेवाबाट वञ्चित समुदायको स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ।
कार्यक्रम गलेश्वरधाम आमा समूहकी अध्यक्ष फुलकुमारी रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष बिन्दु कार्की पुर्जाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव निशा जिसीले गर्नुभएको थियो।

