बिना बिदा स्वीकृत विदेश पुगेकी गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माध्यमिक विद्यालयकी शिक्षिका चेतकुमारी खड्काको कात्तिक महिनादेखि पुष मसान्तसम्मको तलब भत्ता खातामा निकासा भइसकेको पाइएको छ।

खोजअनुसन्धानका क्रममा शिक्षिका खड्का सो अवधिमा विदेशमा रहँदा पनि बिदा स्वीकृतसम्बन्धी कुनै औपचारिक अभिलेख फेला नपरेको स्रोतले जनाएको छ। तलब भत्ता भने नियमित रूपमा खातामा जम्मा भएको देखिएको छ।

त्यही अवधिमा विद्यालयमा नियमित कक्षा सञ्चालनका लागि मूल शिक्षकको सट्टामा ‘खेताला शिक्षक’ प्रयोग गरिएको जानकारी समेत प्राप्त भएको छ। तर ती खेताला शिक्षकहरूको नियुक्ति प्रक्रिया, योग्यता, अध्यापन अनुमति पत्र तथा औपचारिक निर्णयसम्बन्धी स्पष्ट अभिलेख सार्वजनिक देखिँदैन।

यस विषयमा शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख बिदुर चापागाईंले शिक्षिकाको बिदा स्वीकृतबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार बिदा स्वीकृति, हाजिरी व्यवस्थापन, खेताला शिक्षक राख्ने निर्णय र तलब भत्तासम्बन्धी सम्पूर्ण जिम्मेवारी विद्यालयका प्रधानाध्यापक मनोज पौडेल र विद्यालय व्यवस्थापन समितिको क्षेत्राधिकारभित्र पर्छ।

बिना बिदा स्वीकृत शिक्षक विदेशमा रहँदा तलब भत्ता निकासा हुनु र सोही अवधिमा खेताला शिक्षक प्रयोग हुनु सार्वजनिक विद्यालयको प्रशासनिक प्रणाली, अनुगमन संयन्त्र र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठ्ने विषय भएको सरोकारवालाहरू बताउँछन्।

घटनाबारे तथ्य सार्वजनिक गर्दै सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारणसहित आवश्यक कारबाही हुनुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय