नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट युवा नेता अर्जुन थापालाई उम्मेदवार बनाएको छ।

नेकपा म्याग्दीका नेता सेरबहादुर केसीका अनुसार थापालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ। टिकट लिन थापा काठमाडौं गएका छन् भने संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी कार्यालयमा बोलाएर टिकट हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ। ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७ धारापानी निवासी हुन्।

वि.सं. २०५६ मा विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका थापा लामो समय अखिल क्रान्तिकारीमा सक्रिय रहे। पछिल्लो पटक साविक नेकपा माओवादी केन्द्रको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्य रहेका उनी राजनीतिशास्त्रमा स्नातकोत्तर हुन्।

थापाले नेतृत्व गरेको स्वतन्त्र रक्तदाता समूहमार्फत १० हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइएको छ। ५२ पटक रक्तदान गरिसकेका थापाले चन्द्रलोक शैक्षिक कोषमार्फत धवलागिरीका विद्यालयमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएका छन्।

नेकपा म्याग्दीका नेता गोविन्द पौडेलका अनुसार नवयुवा पुस्ताको प्रतिनिधित्व र हस्तक्षेपकारी भूमिकाका लागि थापालाई उम्मेदवार बनाइएको हो। थापालाई विजयी गराउन पार्टी एकजुट भएर निर्वाचन अभियानमा केन्द्रित हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय