सुधन बिश्वकर्मा
सोलुखुम्बु जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका लबुचेस्थित मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।
रुम्जाटारबाट लबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताए । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटना भए लगत्तै हेलिकोप्टरमा आगो लागेको छ । दुर्घटनाको प्रकृति हेर्दा ल्याण्ड गर्ने क्रममा अनियन्त्रीत भएर नजिकैको हिमनदीमा दुघटना ग्रस्त भएको छ । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार घाईते पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ ।
उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ । ‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन,’ सूचना अधिकारी भुलले भने ।

