म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकसम्मको सेवा प्रवाह र विकास निर्माणको प्रगति सार्वजनिक गर्न मौवाफाँटस्थित गाउँपालिका सभाहलमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व, विकास निर्माणका ढिलाइ, योजना भुक्तानी, कोल्ड स्टोर सञ्चालनको ढिलासुस्ती, र निशुल्क स्वास्थ्य शिविरमा देखिएको अनियमितता लगायतका विषयमा प्रश्न उठाएका थिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बजेट कार्यान्वयन विवरण प्रस्तुत गर्दै ६६.४० प्रतिशत पूँजीगत र ८२.५४ प्रतिशत चालु खर्चसहित कुल ७८.४१ प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी दिनुभयो।
सार्वजनिक जिज्ञासामा जवाफ दिंदै अध्यक्ष भवबहादुर भण्डारीले भौगोलिक विकटता र स्रोतसाधनको अभावबीच पनि गाउँपालिकाले पूर्वाधार निर्माणमा सन्तोषजनक प्रगति गरेको बताउनुभयो। कोल्ड स्टोर सञ्चालनका लागि वडा स्तरमै समिति गठन गरी सञ्चालन गर्ने निर्णय कार्यपालिकाबाट भइसकेको र स्वास्थ्य शिविरमा खानाको बिलबाहेक अन्य भुक्तानी नगरिएको स्पष्ट पार्नुभयो।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष अमित विश्वकर्मा, सचिव ठाकुरप्रसाद आचार्य र सदस्य राकेश शर्माले गर्नुभएको थियो।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सेवाग्राहीबाट प्राप्त सुझाव र गुनासालाई मार्गदर्शनको रुपमा लिएर आगामी कार्ययोजना अझ प्रभावकारी र सेवामैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।



