लन्डन । एभरेष्ट टाईम्स यूकेका अध्यक्ष तथा सम्पादक दुत पुन (चिम्खोले काईला) ३१औं विश्व आदिवासी दिवस (मूलवासी दिवस) को अवसरमा ‘वर्ष पुरुष २०२५’ बाट सम्मानित भएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) ले आफ्नो सल्लाहकारसमेत रहेका पुनलाई आइतबार किरात हाउसमा आयोजित विशेष समारोहमा सम्मान गरेको हो। पत्रकारितामा पुर्याएको विशेष योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिका संस्थापक सचिव भक्तबहादुर दुरा, नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई तथा सल्लाहकारहरूले पुनलाई फेटा र विशेष अवार्ड प्रदान गरे।
अध्यक्ष मेजर राईले आदिवासी जनजातिको हकहितमा निरन्तर योगदान पुर्याएको भन्दै पुनलाई सम्मान गरिएको बताए। पत्रकारिता मात्र होइन, साहित्य तथा समाजसेवामा पनि सक्रिय पुन नेपाल पत्रकार महासंघ यूके शाखाका केन्द्रीय प्रतिनिधि, नेपाल मगर संघ यूकेका पूर्व उपाध्यक्षसहित बेलायतस्थित विभिन्न संघ–संस्थामा आबद्ध छन्। उनका १ दर्जन पुस्तक प्रकाशन भइसकेका छन्।
सोही समारोहमा नेपाल आदिवासी जनजाति महिला महासंघ यूकेकी वरिष्ठ उपाध्यक्ष गंगामाया दुरालाई ‘वर्ष महिला २०२५’ बाट विशेष सम्मान प्रदान गरिएको थियो।
नेफिन यूकेले हरेक वर्ष आदिवासी समुदायको सेवामा उल्लेखनीय योगदान गर्ने एक जना पुरुष र एक जना महिलालाई सम्मान गर्दै आएको छ।


