बेनी (म्याग्दी)। निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सोमबार दिउँसो खसेको सुख्खा पहिरोमा परेर दुई मजदुरको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
रघुगंगा गाउँपालिका–४ दग्ना र वडा नं ५ झिँको सिमानामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गर्दै आएको आयोजनास्थलमा एक्कासी पहिरो खस्दा बागलुङ तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका करिब ४६ वर्षीय लालबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
घाइतेहरूको परिचय खुल्न बाँकी रहे पनि उनीहरूलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइँदै गरिएको छ। घटनास्थलमा पिप्ले प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट थप टोली खटाइएको प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए।
मृतक र घाइते मजदुरहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्धार कार्यलाई प्राथमिकता दिइएको र थप दुर्घटना हुन नदिन आवश्यक योजना बनाइएको जानकारी दिए।
यसअघि पनि राहुघाट नदीको पानी थुनेर सुरुङमा मोड्ने क्रममा आयोजनाको बाँधस्थल पहिरोको जोखिममा परेको घटनाहरू सार्वजनिक भइसकेका थिए।


