म्याग्दी- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी म्याग्दीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिसका सम्बन्धमा स्पष्ट धारणा सार्वजनिक गरेको छ।

२०८२ साल पुष ५ गते बसेको जिल्ला कमिटीको बैठकको निर्णयअनुसार माननीय रेशम बहादुर जुग्जाली (सुविन) लाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपमा सिफारिस नगर्नुको कारणबारे जानकारी गराइएको हो। साथै, यस विषयमा भ्रममा नपर्न सबैलाई अनुरोध गरिएको छ।

नेकपा जिल्ला कमिटी म्याग्दीका अनुसार माननीय रेशम जुग्जाली म्याग्दी प्रदेशसभा (ख) बाट पाँच वर्षका लागि निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ। कार्यकाल बाँकी रहँदै संघीय चुनावमा उम्मेदवार बनेमा जनताप्रति धोका हुने, उपचुनाव गर्नुपर्ने र त्यसले राज्यलाई अतिरिक्त आर्थिक भार पर्ने तथा उपचुनाव नहुँदा प्रदेशसभा (ख) लामो समय जनप्रतिनिधिविहीन हुन सक्ने अवस्थाप्रति पार्टी संवेदनशील रहेको स्पष्ट गरिएको छ।

त्यसैगरी वडा, पालिका र प्रदेश तहका निर्वाचनहरूमा लगातार उम्मेदवार बनेका जुग्जाली कार्यकाल नसकिँदै संघीय निर्वाचनमा उम्मेदवार बनेर जनतामाझ जाँदा सकारात्मक सन्देश नजाने निष्कर्ष पार्टीले निकालेको छ। साथै, पार्टीभित्र सबैलाई अवसर दिनुपर्ने सिद्धान्तलाई समेत ध्यानमा राखिएको जनाइएको छ।

पार्टीले म्याग्दी जिल्ला र म्याग्देली जनताको हितमा सधैं साथ रहने र सबै मिलेर जिल्लाको समृद्धिका लागि सहकार्य गर्दै अघि बढ्ने माननीय रेशम जुग्जालीको स्पष्ट धारणा रहेको पनि उल्लेख गरेको छ।

अन्त्यमा, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट नेपाली कम्युनिष्ट पार्टीको तारा अंकित उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक तथा शुभेच्छुकहरूलाई सहयोगका लागि हार्दिक अपिल गरिएको छ।

यो विज्ञप्ति माननीय रेशम बहादुर जुग्जाली (सुविन) को सचिवालयद्वारा जारी गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय