म्याग्दी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दी जिल्लाबाट नेकपा एमालेका अनुभवी तथा लोकप्रिय नेता हरिकृष्ण श्रेष्ठको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
नेकपा एमाले म्याग्दी जिल्ला कमिटीको शुक्रबार सम्पन्न बैठकले संगठन निर्माण, जनसम्पर्क र पार्टीप्रतिको निष्ठाका कारण श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको बलियो उम्मेदवारका रूपमा अघि सारेको हो। लामो समयदेखि पार्टी र जनताको सेवामा सक्रिय रहँदै आएका श्रेष्ठ म्याग्दीमा परिचित, भरोसायोग्य र परिणाममुखी नेताका रूपमा चिनिन्छन्।
स्थानीय तहदेखि जिल्लासम्मको राजनीतिक अनुभव, विकासप्रति स्पष्ट दृष्टिकोण र सबै वर्ग–समुदायसँगको पहुँचका कारण श्रेष्ठलाई आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न सक्ने उम्मेदवारका रूपमा हेरिएको छ। पार्टीभित्र मात्र होइन, आम मतदातामाझ पनि उनको लोकप्रियता बढ्दो रहेको नेताहरूको भनाइ छ।
हरिकृष्ण श्रेष्ठसँगै प्रकाश पौडेल, बालकृष्ण सुवेदी, बलादेवी राई र पशुपति शाहीको नाम पनि प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरिएको छ। यद्यपि संगठनात्मक पकड, अनुभव र जनविश्वासका आधारमा श्रेष्ठको उम्मेदवारीलाई विशेष महत्वका साथ हेरिएको छ।

