बेनी, म्याग्दी ।
बेनी नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि सार्वजनिक विद्यालयहरूमा शिक्षक तथा कर्मचारीको डिजिटल हाजिरी प्रणाली जडान गरिसकेको छ। यस प्रणालीमार्फत कुन शिक्षक कुन समयमा विद्यालय पुगे, गयो वा गएन भन्ने सबै विवरण नगरपालिकाबाटै अनुगमन गर्न मिल्ने व्यवस्था छ। तर सदरमुकामसँगै जोडिएको गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माध्यमिक विद्यालयमा गम्भीर अनियमितता फेला परेको छ।
सूचनाका आधारमा गरिएको खोजअनुसन्धानका क्रममा उक्त विद्यालयका विभिन्न शिक्षकहरू विभिन्न समयमा विभिन्न मितिमा स्पेन, अष्ट्रेलिया, जापानलगायत देशमा जाने–आउने गरेको पाइएको छ। विदेशमा रहँदा पनि उनीहरूको नाममा विद्यालयमा नियमित हाजिरी देखाइएको तथ्य भेटिएको छ।
एक जना शिक्षकले विदेशमै स्थायी आवास अनुमति (पीआर) प्राप्त गरेपछि अनलाइनमार्फत राजीनामा दिएको र शिक्षा विकास तथा समन्वय इकाईले उक्त राजीनामा स्वीकृत गरेको प्रमाण समेत हाम्रो न्यूज टिमले फेला पारेको छ। तर अन्य शिक्षकहरूको हकमा भने असाधारण बिदा नलिई पछिल्ला मितिमा हाजिरी मिलाइएको पाइएको छ।
सूचनाअनुसार नगरपालिकाले विदेश भ्रमणमा रहेका मूल शिक्षकको नाममै तलब निकासा गर्ने, विद्यालयले शिक्षकको खातामा रकम जम्मा गरिदिने र तलब पुगेपछि मूल शिक्षकले आफू विदेशमै बसेर खेताला शिक्षक राखी तलबको ठूलो हिस्सा आफूले राख्ने र थोरै रकम मात्र खेतालालाई दिने गरेको देखिन्छ।
अझ गम्भीर कुरा के छ भने ती खेताला शिक्षकहरू शिक्षा संकाय नपढेका, अध्यापन अनुमति पत्र र आवश्यक तालिम नलिएका, विद्यालयकै कर्मचारीका आफन्तहरूलाई बिना कुनै प्रतिस्पर्धा नियुक्त गरिएको पाइएको छ।
जबकि बेनी नगरपालिकाले तलब भत्ता माग गर्दा शिक्षक तथा कर्मचारीको हाजिरी प्रमाणित कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरेको छ। यति हुँदाहुँदै पनि यस्ता गतिविधि भइरहनुमा विद्यालय प्रशासन र सम्बन्धित निकायबीचको मिलेमतो बिना सम्भव नहुने स्थानीय सरोकारवालाहरूको आरोप छ।
यस प्रकारका शैक्षिक बेथिति तत्काल अन्त्य गरी दोषीमाथि छानबिन र कडा कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ।

