सरकारी नुनमा पार्टीको दलाली, बेनी ७ स्थित प्रकाश माविका प्रअद्वारा एमाले उम्मेदवारलाई जिताउन आह्वान
बेनी नगरपालिका–७ स्थित प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक लेख बहादुर हमालले अभिभावकहरूको आधिकारिक सामाजिक सञ्जाल समूहमा नेकपा एमाले म्याग्दीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई जिताउनुपर्ने आशयको सन्देश लेखेपछि विवाद सिर्जना भएको छ।
प्रधानाध्यापक हमालले उक्त समूहमा श्रेष्ठलाई “विद्यालय परिवारको तर्फबाट साथ दिनुपर्ने” उल्लेख गर्दै जिताउन आग्रह गरेका थिए। विद्यालयसँग प्रत्यक्ष सम्बन्धित अभिभावक समूहमा यस्तो राजनीतिक सन्देश राखिएको विषय सार्वजनिक भएसँगै “सरकारी नुन खाएर पार्टीको दलाली?” भन्ने प्रश्न उठ्न थालेको छ।
निर्वाचन आचारसंहिता अनुसार शैक्षिक संस्था र त्यसका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुन नपाइने स्पष्ट व्यवस्था छ। विद्यालय जस्तो सार्वजनिक तथा सरकारी संरचनासँग जोडिएको पद प्रयोग गरी मत माग्नु आचारसंहिताविपरीत हुनसक्ने कानुनी जानकारहरूको भनाइ छ।
यस विषयमा प्रधानाध्यापक हमाल वा सम्बन्धित निकायको औपचारिक धारणा भने सार्वजनिक भएको छैन। घटनाबारे सम्बन्धित निकायले छानबिन गर्ने अपेक्षा गरिएको छ।

