म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ ।
एकीकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूको सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्रीले किशोरीहरूको भौतिक सुरक्षासँगै विद्युतीय माध्यमबाट हुने हिंसाबाट बच्न पनि तालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले किशोरीहरूलाई सचेत, सुरक्षित र आत्मविश्वासी बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले महिला तथा किशोरीमाथि हुने हिंसा तथा दुर्व्यवहारका घटना बढ्दै गएको अवस्थामा आत्मरक्षा तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले तालिमले किशोरीहरूको आत्मबल वृद्धि गर्नुका साथै नेतृत्व क्षमता विकास र समाजमा सचेतना फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्सेर घर्ती क्षेत्रीले किशोरीहरूलाई सक्षम र सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
तालिममा किशोरावस्थाका जोखिम, बालविवाह तथा त्यसले समाजमा पार्ने असर, दैनिक जीवनमा आइपर्न सक्ने जोखिमपूर्ण अवस्थाबाट सुरक्षित रहने उपाय, मानसिक रूपमा सबल बन्ने तथा आवश्यक अवस्थामा आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । साथै सहभागी किशोरीहरूलाई विभिन्न आत्मरक्षा प्रविधिको व्यवहारिक अभ्याससमेत गराइएको थियो ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तिमिल्सिना, प्रहरी सहायक हवल्दार आकाश भित्रीकोटी तथा प्रहरी जवानहरू हेमा बडाल, गुन्जबहादुर नेपाली र भूमिसरा राम्जालीले प्रशिक्षण दिइरहनुभएको छ ।
कार्यालय प्रमुख घर्ती क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्राविधिक सहायक उपेन्द्रबहादुर बस्नेतले गर्नुभएको थियो ।

