म्याग्दीको मालिका गाउँपालिका–१ स्थित निस्कोट माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विद्यार्थी क्याप्टेन र उपक्याप्टेन चयन गरिएको छ ।

शुक्रबार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले चालु शैक्षिक सत्रका लागि क्याप्टेन र उपक्याप्टेन मतदान प्रक्रियाबाट चयन गरेका हुन् । निर्वाचनबाट क्याप्टेनमा देवश पुन र उपक्याप्टेनमा श्रृष्टी पुन निर्वाचित हुनुभएको विद्यालयका शिक्षक नविन पुनले जानकारी दिनुभयो ।

क्याप्टेन र उपक्याप्टेन पदका लागि पाँच–पाँच जनाको उम्मेदवारी परेको थियो । उनीहरूलाई चुनाव चिन्ह प्रदान गरी लोकतान्त्रिक अभ्यासअनुसार मतदानमार्फत विजेता घोषणा गरिएको हो ।

निर्वाचनमा क्याप्टेनले ३० मत र उपक्याप्टेनले ३६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । कुल ११४ जना विद्यार्थीहरूले मतदानमा सहभागिता जनाएका थिए । कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरू मतदान प्रक्रियामा सहभागी भएका थिए ।

निर्वाचन सञ्चालनका लागि विद्यालयका सहायक प्रधानाध्यापक बिरबहादुर खड्कालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको थियो भने अन्य शिक्षकहरू निर्वाचन कर्मचारीको रूपमा खटिएका थिए । साथै, विद्यार्थीहरूलाई नै निर्वाचन प्रहरीको भूमिकामा परिचालन गरिएको थियो ।

निर्वाचनअघि एक दिन मनोनयन दर्ता गराई उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिएको थियो । उनीहरूलाई सबै कक्षाकोठामा पुगेर मतदातासँग मत माग्ने अवसर समेत दिइएको थियो ।

विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर पुनका अनुसार विद्यार्थीहरूलाई निर्वाचन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिन र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न यो अभ्यास गरिएको हो । कक्षा १० को सामाजिक विषयमा निर्वाचन र मतदान प्रक्रियाबारे अध्ययन गराउनुपर्ने भएकाले पाठ्यपुस्तकको विषयलाई व्यवहारिक रूपमा बुझाउन पनि यसले सहयोग पुगेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय