बेनी, २० जेठ । म्याग्दीको मालिका गाउँपालिका–६ डाँडाखर्ककी ७० वर्षीया राममायाँ खत्रीले जीवनको उत्तरार्धमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ। एकल महिला तथा शारीरिक रूपमा अपाङ्ग रहनुभएकी राममायाँलाई जिल्ला प्रशासन कार्यालयमा अन्य सेवाग्राहीसरह लामो लाइनमा नराखी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै नागरिकता प्रदान गरिएको हो।
विसं २०१३ सालमा जन्मिनुभएकी राममायाँसँग हालसम्म नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यबाट प्राप्त हुने विभिन्न सेवासुविधाबाट वञ्चित रहनुभएको थियो। गाउँका आफ्नै उमेर समूहका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता पाइरहेको देखेपछि उहाँले परिवारसँग नागरिकता बनाइदिन आग्रह गर्दै आउनुभएको थियो।
राममायाँका कान्छा भाइ गर्भे खत्रीले आवश्यक कागजात संकलन गरी जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा भएको हो। मंगलबार प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य तथा सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उहाँलाई नागरिकता हस्तान्तरण गर्नुभएको थियो।
नागरिकता प्राप्त गरेपछि खुसी व्यक्त गर्दै राममायाँले अब वृद्धभत्ता प्राप्त हुने भएकाले औषधोपचार तथा दैनिक जीवनयापनमा केही सहजता हुने बताउनुभयो।
“नागरिकता पाएपछि निकै खुसी लागेको छ, अब भत्ता पनि पाइन्छ,” उहाँले भन्नुभयो।
नागरिकतासँगै राष्ट्रिय परिचयपत्रसमेत बनाइएपछि आफ्नो जिम्मेवारी पूरा भएको अनुभव भएको राममायाँका भाइ गर्भे खत्रीले बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी आचार्यले जीवनको उत्तरार्धमा पुगेकी नागरिकलाई नागरिकता हस्तान्तरण गर्न पाउँदा आफूलाई विशेष खुसी लागेको बताउँदै राज्यका सेवासुविधाबाट कुनै पनि नागरिक वञ्चित हुन नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले आवश्यक कागजातका अभावमा नागरिकता लिन नसकेका नागरिकलाई सम्बन्धित निकायमा सम्पर्क गरी प्रक्रिया पूरा गर्न आग्रहसमेत गर्नुभयो।

